.

लड्र्स क्रिकेट मैदानमा नेपाल र बङ्गलादेशबीच अर्को वर्ष ऐतिहासिक टी–२० खेल हुने

काठमान्डौ, ३ मंसिर ।  नेपालले इङ्ग्ल्यान्ड भ्रमणका क्रममा टेस्ट राष्ट्र बङ्गलादेशसँग लड्र्स क्रिकेट मैदानमा टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने भएको छ ।

 

नेपाल क्रिकेट सङ्घ क्यानले आज कीर्तिपुरको त्रि.वि. अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पत्रकार सम्मेलनको आयोजना गरेर नेपाली राष्ट्रिय क्रिकेट टोलीको इङ्ग्ल्यान्ड भ्रमण र बङ्गलादेशसँग हुने ऐतिहासिक टी–२० खेलबारे जानकारी दिएको हो । क्यानका अनुसार मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) को आयोजनामा हुने इङ्ग्ल्यान्ड भ्रमणका क्रममा नेपालले आउँदो वर्ष सन् २०२७ को जुन ३ मा लड्र्समा बङ्गलादेशसँग टी–२० क्रिकेट खेल्नेछ ।यो खेल त्यही दिन लड्र्समा हुने मिडल सेक्सको टी–२० ब्लास्ट खेलसँगै आयोजना हुनेछ । यो लड्र्समा पुरुष अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटको खेल एकैदिन आयोजना हुन लागेको पहिलो अवसर हुनेछ । बङ्गलादेश पुरुष टोलीले लड्र्समा पहिलो पटक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो । 

 

यसअघि सन् २०२६ मा बङ्गलादेशको महिला टोलीले लड्र्समा खेलेको थियो । यस्तै नेपाली पुरुष टोलीले लड्र्समा दोस्रो पटक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो । नेपालले यसअघि सन् २०१८ मा नेदरल्यान्ड्ससँग खेलेको थियो । इङ्ग्ल्यान्ड भ्रमणका क्रममा नेपालले स्कटल्यान्ड र आयरल्यान्डसँग पनि अन्तर्राष्ट्रिय खेल खेल्ने कार्यक्रम रहेको छ ।

प्रतिकृया दिनुहोस
↑