आगामी नोभेम्बर १९ देखि २९ सम्म राइजिङ स्टार्स एसिया कप क्रिकेट हुदै
काठमान्डौ, ७ कार्तिक । कतारमा नोभेम्बर १९ देखि २९ सम्म हुने राइजिङ स्टार्स एसिया कपमा नेपाल, भारत ‘ए’, पाकिस्तान ‘ए’ र यूएईसँगै समूह ‘बी’ मा परेको छ ।
समूह ‘ए’ मा बंगलादेश ‘ए’, श्रीलंका ‘ए’, अफगानिस्तान ‘ए’ र हङकङ रहेका छन् । प्रतियोगितामा भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाले ‘ए’ टोली खेलाउनेछन् भने नेपाल, यूएई र हङकङले राष्ट्रिय सिनियर टोली उतार्न सक्नेछन् । नेपालले समूह चरणको पहिलो खेल नोभेम्बर २० मा भारत ‘ए’ सँग खेल्नेछ । त्यसपछि नोभेम्बर २२ मा यूएई र नोभेम्बर २४ मा पाकिस्तान ‘ए’ सँग प्रतिस्पर्धा गर्नेछ । दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल नोभेम्बर २९ मा हुनेछ ।
यसैबिच, राइजिङ स्टार्स एसिया कपको तालिका एन.पी.एल.सँग पनि जुधेको छ । नेपाल प्रिमियर लिग नोभेम्बर २१ अर्थात् मंसिर ५ गतेसम्म चल्नेछ । नेपालले भारत ‘ए’ सँग खेल्ने दिन एनपीएल जारी रहनेछ। त्यसकारण नेपालले प्रतियोगिताका लागि कुन टोली घोषणा गर्छ त्यो भने केही दिनमा थाहा हुनेछ ।

प्रतिकृया दिनुहोस