धेरैजसो सरकारी वेबसाइटहरु सुरक्षा जोखिमका कारण ४ दिनदेखि बन्द
काठमान्डौ, ८ कार्तिक । वेबसाइट निर्माणमा प्रयोग हुने ‘पी.एच.पी.’ कोडिङ प्रणालीमा विश्वव्यापी रूपमा सुरक्षा जोखिम भेटिएपछि सम्भावित साइबर आक्रमणबाट बच्न गएको बिहीवार कात्तिक ५ गतेदेखि नेपालका हजारौँ सरकारी वेबसाइट बन्द गरिएका छन् ।
वेबसाइट बन्द हुँदा नयाँ लाइसेन्सको अनलाइन फाराम, मालपोतको भू–सेवा र राजस्व अनुसन्धानको भी.सी.टी.एस.जस्ता अत्यावश्यक सेवाहरू ठप्प भएका छन् । नेपाल राष्ट्र बैंकको वेबसाइट समेत बन्द हुँदा दैनिक विदेशी मुद्राको विनिमय दर र ब्याजदरसम्बन्धी जानकारी लिन सामाजिक सञ्जालको सहारा लिनुपरेको छ । निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरूले ३–४ घण्टाभित्रै प्रणाली सुरक्षित बनाएर सेवा शुरू गरिसके पनि सरकारी निकाय भने ४ दिनदेखि अलमलमा देखिन्छन् । यसले सरकारको कार्यक्षमतामाथि गम्भीर प्रश्न उठाएको छ ।
राहदानी विभाग, श्रम स्वीकृति र राष्ट्रिय परिचयपत्र जस्ता पी.एच.पी. प्रयोग नभएका सेवा भने सञ्चालनमा रहेका छन् । राष्ट्रिय साइबर सुरक्षा केन्द्र र सफ्टवेयर विकास केन्द्रका अनुसार अहिलेसम्म नेपालमा कुनै साइबर आक्रमण भने भएको छैन ।

प्रतिकृया दिनुहोस