जासुसी विवादपछि अमेरिकी प्रतिबन्ध थप कडा हुने त्रास
बिहिबार, २५ कार्तिक
अमेरिकी सेमिकन्डक्टर कम्पनी ‘एनभिडिया’का प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङसँग जोडिएको जासुसी विवादपछि अमेरिकाले चीनमाथि प्रविधि प्रतिबन्ध थप कडा बनाउन सक्ने आशंका चुलिएको छ । यससँगै चिनियाँ एआई कम्पनीहरू एनभिडियाका शक्तिशाली चिप र तिनको कम्प्युटिङ क्षमता सुरक्षित गर्न तीव्र दौडधुपमा लागेका छन् ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार, चिनियाँ एआई कम्पनीहरूले चीनबाहिर रहेका डेटा सेन्टरहरूमा जडान गरिएका एनभिडिया चिपको कम्प्युटिङ क्षमता भाडामा लिने प्रयासलाई तीव्र बनाएका छन् । यसका लागि केही चिनियाँ कम्पनीहरूले विदेशस्थित डेटा सेन्टर सञ्चालकहरूसँग सम्पर्क गरी आवश्यक क्षमता अग्रिम रूपमा सुरक्षित (रिजर्भ) राख्ने विषयमा छलफल अघि बढाएका छन् ।
यस मामिलाबारे जानकार तीन स्रोतका अनुसार, अमेरिकाले आफ्नो निर्यात नियन्त्रणको दायरा विस्तार गर्दै विदेशबाटै क्लाउडमार्फत चिप प्रयोग गर्न सकिने सुविधासमेत बन्द गरिदिन सक्ने जोखिमप्रति चिनियाँ कम्पनीहरू सशङ्कित छन् ।
अत्याधुनिक प्रविधिमा चीनको पहुँच सीमित गर्ने उद्देश्यले अमेरिकाले एनभिडियाका सबैभन्दा शक्तिशाली एआई चिप चीन निर्यात गर्न यसअघि नै प्रतिबन्ध लगाइसकेको छ । तर, प्रत्यक्ष रूपमा चिप आयात गर्न नपाए पनि चिनियाँ कम्पनीहरूले विदेशस्थित डेटा सेन्टरमार्फत ती चिपको कम्प्युटिङ क्षमता भाडामा लिएर प्रयोग गर्दै आएका छन् । यसरी उनीहरूले अमेरिकी निर्यात नियन्त्रणको एउटा कानुनी तथा व्यावहारिक ‘छिद्र’ (लुपहोल) उपयोग गरिरहेका छन् ।
- विदेशमा चिप क्षमता सुरक्षित गर्ने होड
रोयटर्सका अनुसार चीनको एक प्रमुख क्लाउड सेवा प्रदायक कम्पनीले विदेशमा उपलब्ध एनभिडिया चिपको कम्प्युटिङ क्षमता अग्रिम रूपमा सुरक्षित गर्नेबारे आन्तरिक छलफल थालेको छ । त्यसैगरी, केही चिनियाँ कम्पनीहरूले डेटा सेन्टर सञ्चालकहरूसँग सम्पर्क गरेर आवश्यक कम्प्युटिङ क्षमता आरक्षित गर्ने प्रयास गरिरहेका छन् ।
साना एआई अनुसन्धान प्रयोगशालाहरू पनि यस्तै प्रयासमा जुटेका छन् । स्रोतहरूका अनुसार उनीहरूले विशेषगरी दक्षिणपूर्वी एसियामा कम्प्युटिङ क्षमता भाडामा उपलब्ध गराउने ठूला सेवा प्रदायकहरूसँग सम्पर्क बढाइरहेका छन् । विषयको संवेदनशीलताका कारण स्रोतहरूले आफ्नो र सम्बन्धित कम्पनीको नाम खुलाउन अस्वीकार गरेका छन् ।
च्याटबट र अन्य ‘जेनेरेटिभ एआई’ प्रणाली सञ्चालन गर्ने ठूला एआई मोडेलहरूको विकास, तालिम (ट्रेनिङ) र प्रयोगका लागि एनभिडियाका अत्याधुनिक प्रोसेसरहरू अनिवार्य मानिन्छन् । विदेशस्थित डेटा सेन्टरमार्फत हुने पहुँचमा समेत रोक लगाइएमा चिनियाँ एआई विकासकर्ताहरूलाई उच्च क्षमताको कम्प्युटिङ सुविधा प्राप्त गर्न निकै कठिन हुनेछ ।
- हुआङसँग जोडिएको विवादले थप्यो आशंका
एनभिडियाका सीईओ जेन्सेन हुआङले हालै आफ्नी श्रीमतीप्रति आफूले बेइमानी गरेको स्वीकार गरेका थिए । यसैबीच, ‘द न्युयोर्क टाइम्स’ले हुआङसँग सम्बन्ध रहेको भनिएकी महिला एलिस हुआङ सिङ्गापुरस्थित क्लाउड कम्प्युटिङ कम्पनी ‘मेगास्पिड’की पूर्वकार्यकारी रहेको र अमेरिकी अधिकारीहरूले उनलाई चिनियाँ गुप्तचर निकायसँग सम्बन्धित व्यक्ति भएको निष्कर्ष निकालेको दाबीसहितको समाचार प्रकाशित गरेको थियो ।
यद्यपि, यस आरोपको स्वतन्त्र रूपमा पुष्टि भएको छैन र चीनले समेत उक्त दाबी अस्वीकार गरेको छ ।
यस मामिलाबारे जानकार दुई व्यक्तिका अनुसार एलिस हुआङको चीनका प्रमुख प्रविधि कम्पनीहरू ‘टेन्सेन्ट’ र ‘अलिबाबा’सँग व्यावसायिक कारोबार तथा लगानीसम्बन्धी सम्बन्ध थियो । तर, यी दुवै कम्पनीले यसबारे तत्काल कुनै प्रतिक्रिया दिएका छैनन् ।
सिङ्गापुरको व्यावसायिक अभिलेख उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार अलिबाबाको सहायक कम्पनी ‘एपेक्स इन्टरप्राइज सोलुसन्स’ले मेगास्पिडसँग सम्बन्धित मलेसियाली कम्पनी ‘स्पिडम्याट्रिक्स’लाई वित्तीय सहयोग उपलब्ध गराएको थियो ।
मेगास्पिडमाथि अमेरिकी प्रतिबन्धमा रहेका एनभिडियाका अत्याधुनिक चिप चिनियाँ ग्राहकको पहुँचमा पुर्याउन सहयोग गरेको आशंकामा अनुसन्धान भइरहेको छ । कम्पनीले भने गैरकानुनी रूपमा चिप चीन पठाएको आरोप अस्वीकार गर्दै आएको छ । यस विषयमा एनभिडिया, मेगास्पिड र अमेरिकी वाणिज्य मन्त्रालयले पनि तत्काल कुनै टिप्पणी गर्न चाहेका छैनन् ।
- कालोबजारीमा चिप थुपार्ने क्रम तीव्र
अमेरिकाले चिप निर्यातसम्बन्धी नियम थप कडाइका साथ कार्यान्वयन गर्न सक्ने सम्भावनाले चीनको अनौपचारिक (कालो) बजारमा पनि प्रतिबन्धित एआई चिपको माग ह्वात्तै बढाएको छ ।
स्रोतहरूका अनुसार भविष्यमा आपूर्ति झनै कठिन हुन सक्ने आशंकामा चिनियाँ व्यापारी तथा बिचौलियाहरूले यस्ता प्रोसेसरहरू भण्डारण गर्न थालेका छन् । विशेषगरी अत्याधुनिक चिप र एआई सर्भरहरू दक्षिणपूर्वी एसियालगायतका बाटो भएर तस्करी भई चीन भित्रिने गरेकोमा अमेरिकाले त्यस्ता गतिविधिमाथि व्यापक धरपकड गर्न सक्ने उनीहरूको चिन्ता छ ।
यसअघि अमेरिकी निर्यात प्रतिबन्धमा परेको र चीनको जनमुक्ति सेनासँग निकट सम्बन्ध रहेको मानिएको एक चिनियाँ विश्वविद्यालयले गत महिना एनभिडियाका शक्तिशाली ‘एच२००’ एआई चिप खरिद गरेको तथ्य बाहिरिएको थियो । उक्त खरिद सम्झौताले अमेरिकी प्रविधि नियन्त्रणको प्रयासमा रहेका कमजोरीहरू उजागर गरेको विश्लेषण गरिएको छ ।
त्यस्तै, अमेरिकी अभियोजनकर्ताहरूले गत मार्चमा ‘सुपर माइक्रो कम्प्युटर’का सहसंस्थापक यी–स्यान ‘वाली’ लिआउ र अन्य दुई व्यक्तिविरुद्ध एनभिडियाका चिप जडित सर्भरहरू दक्षिणपूर्वी एसियास्थित कम्पनीमार्फत चीन पुर्याउने षड्यन्त्र गरेको आरोपमा मुद्दा दायर गरेका थिए ।
अभियोजनकर्ताहरूका अनुसार उक्त कम्पनीले सन् २०२४ देखि २०२५ बीच सुपर माइक्रोसँग करिब २ अर्ब ५० करोड अमेरिकी डलर बराबरका सर्भर खरिद गरेको थियो, जसको ठूलो हिस्सा चीन पठाइएको दाबी गरिएको छ । यद्यपि, प्रतिवादीहरू अदालतबाट दोषी ठहर भइसकेका छैनन् ।
- अमेरिकी नियन्त्रणको नयाँ चुनौती
अमेरिकाले चीनको एआई विकास रोक्न अत्याधुनिक सेमिकन्डक्टर चिपको प्रत्यक्ष निर्यातमा कडाइ गरे पनि विदेशस्थित डेटा सेन्टरबाट कम्प्युटिङ क्षमता भाडामा लिने सुविधाले अमेरिकी नियन्त्रणको प्रभावकारितामाथि प्रश्न उठाएको छ ।
यही कानुनी छिद्र बन्द गर्न अमेरिकामा ‘रिमोट एक्सेस सेक्युरिटी एक्ट’ (आरएएसए) नामक विधेयक अघि बढाइएको छ । यसले अमेरिकी वाणिज्य मन्त्रालयलाई क्लाउड कम्प्युटिङमार्फत प्रतिबन्धित प्रविधिमा हुने दूरस्थ (रिमोट) पहुँचसमेत नियमन गर्ने कानुनी अधिकार दिने प्रस्ताव गरेको छ ।
अमेरिकी प्रतिनिधिसभाले गत जनवरीमा उक्त विधेयक ३६९ का विरुद्ध २२ मतले पारित गरिसकेको छ र हाल यो सिनेटको स्वीकृतिको प्रतीक्षामा छ ।
हुआङसँग जोडिएको पछिल्लो जासुसी विवादले उक्त विधेयक सिनेटबाट पनि चाँडै पारित गराउन अमेरिकी राजनीतिमा थप दबाब सिर्जना गर्न सक्ने चिनियाँ प्रविधि कम्पनीहरूको आँकलन छ ।
यदि अमेरिकाले विदेशस्थित डेटा सेन्टरबाट हुने चिप प्रयोगमा समेत कडा प्रतिबन्ध लगाएमा चिनियाँ कम्पनीहरूको उच्चस्तरीय कम्प्युटिङ क्षमतामाथिको पहुँच गम्भीर रूपमा प्रभावित हुनेछ । यसले विश्वव्यापी एआई प्रतिस्पर्धामा चीनको गतिलाई समेत सुस्त बनाउन सक्ने देखिन्छ ।

प्रतिकृया दिनुहोस