.

स्थानीय निर्वाचनमा एउटै चुनाव चिह्न प्रयोग गर्न अग्रगामी मोर्चाले आयोगसँग ग¥यो परामर्श

काठमान्डौ, ३ मंसिर ।    नौ वटा राजनीतिक दल मिलेर बनेको अग्रगामी मोर्चाले स्थानीय तह निर्वाचनमा एउटै चुनाव चिह्न प्रयोग गर्न पाउने वा नपाउने विषयमा निर्वाचन आयोगसँग परामर्श गरेको छ । 

 

स्थानीय निर्वाचनको तयारी र एउटै चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्न सकिने कानुनी व्यवस्थाबारे जानकारी लिन मोर्चाका प्रतिनिधि आयोग पुगेका हुन् । जनता समाजवादी पार्टी नेपालका महासचिव डा. सुरेन्द्र झाले स्थानीय तह निर्वाचनमा एउटै चुनाव चिह्न प्रयोग गर्न मिल्छ कि मिल्दैन भन्ने विषयमा छलफल भएको बताउनु भयो । मोर्चामा रहेका दलमध्ये कुनै एक दलको चुनाव चिह्न प्रयोग गर्न मिल्ने वा नयाँ चुनाव चिह्न लिनुपर्ने विषयमा पनि परामर्श गरिएको उहाँले जानकारी दिनुभयो । 

 

झाका अनुसार आयोगले यस विषयमा कानुनी व्यवस्था अध्ययन गरेर मात्र सुझाव दिन सकिने जनाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एउटै चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्न सकिने व्यवस्था भए पनि स्थानीय तह निर्वाचनमा त्यस्तो व्यवस्था स्पष्ट नभएको आयोगको भनाइ रहेको छ ।

प्रतिकृया दिनुहोस
↑